|
टुहुराको मन
द्रोणाचार्य
आफ्नो भाग्य सम्झेर ऊ धेरै बेर रोयो ।
पहिल्यै यसरी त्यो गाउँले केटो कहिल्यै रोएको थिएन, तर जब होटल मालिकले अनाहकमा गाली ग¥यो, त्यो टुहुरो, भाग्यले ठगिएको केटाले मन थाम्न सकेन । हतारहतार भाँडा माझ्योे, सधैंझैं टल्किएका भाँडामा आफूलाई हेरेन किनभने अनुहारमा बादल लागेको थियो अनि वर्षन मात्र बाँकी थियो, खानापनि खाएन, मालिकको वचनले अघाइसकेको थियो । आफ्नो दुःखको साक्षी होटलको सानो, उसको जीवनजस्तै निष्पट्ट अँध्यारो कोठामा हुर्रियोे, बिस्तरामा हाम्फाल्योे, सिरकले मुख छोप्यो अनि धुरुधुरु रोयो आफ्नो कर्म सम्झेर ।
रोएपछि मन अलि हल्का भयो । आमापनि हरेक दिन रुन्थी उसलाई छातीमा टाँसेर, उसकोे बाँच्ने सहारा उही त थियो । दिनभर काम गर्थी, अनि साँझ परेपछि जँडयाहा लोग्नेको गाली खान्थी, लात खान्थी, आफू नखाइ नखाइ छोरालाई खुवाउँथी, मीठामीठा कथा सुनाएर उसलाई सुताउँथी । बिचरीले कति रात रोइरोइ बिताइ बिताइ ।
आफ्नो छोरालाई काखमा खेलाउँदा सबै दुःख बिर्सन्थी ऊ, तर त्यस दिन उसले सहन सकिन ।
असार महिनाको पूर्नेको रात उसको जँडयाहा लोग्नेले सौता ल्यायोे । आश्रयहीन ऊ बहुलाहीझैं जङ्गलतिर दगुरी झरीमा, उसलाई लाग्यो लोग्ने, सौता र सारा समाज उसलाई भीरतिर लखेटिरहेछन्, उसका भगवान टुलुटुलु हेरिरहेछन्, मृत्यु उसलाई बोलाइरहेछ ।
नाबालक छोरो सम्झी तर यसपटक छोराको मायाले बाँध्न सकेन उसको मन । उसलाई लाग्यो ऊ अब छोराको लागि केही गर्न सक्तिन किनभने उसमा दुःख सहनसक्ने क्षमता बाँकी छैन ।
भीरछेउ पुगी, छोराका कोमल हातले छेकेजस्तो लाग्यो अनि लोग्ने र सौताका बलिया हातले घचेडेजस्तो लाग्यो । अनि ऊ भीरबाट हाम्फाली । उसको दुःखको अध्याय सकियो, छोराको शुरु भयो ।
सौतेनी आमाको खटनमा उसको कष्टकर जीवन शुरु भयो । पढाइ छुट्यो, घाँसदाउरा गर्दैमा बाल्यकाल बित्न लाग्यो । यतिसम्म त सहेकै थियो, तर दिनभरि काम गर्दा पनि भोकभोकै सुत्नुपर्दा, सौतेनी आमाको गाली सुन्नुपर्दा, पिटाइ खानुपर्दा टुहुराको मन रुन्थ्यो ।
गाउँमा ऊजस्ता अभागीहरूको कमी थिएन । घाँसदाउरा खोज्न जाँदा, गाइ चराउन जाँदा ती दुखी केटाकेटी मनको वह पोख्थे, आफ्नो भाग्य सम्झेर रुन्थे । रोएर मात्रै जीवन चल्दैनथ्यो, त्यसैले तिनले घर छोड्ने सल्लाह पनि गर्थे । ठूला सपना थिएनन्, खाली सौतेनी आमाको पञ्जाबाट कसरी छुट्ने, जँडयाहा, अकर्मण्य बाबुको अन्यायी संसारबाट कसरी भाग्ने भन्ने ध्याउन्नामात्र थियो बिचराहरूको ।
दशैंका बेला लाहुरे आउँथे, दिल्लीको कुरा गर्थे, बम्बैको झिलिमिलिको, हङकङको, ब्रुनाइको कुरा गर्थे । अनि ती भर्खर जुँगाको रेखी बसेकाहरू विदेशी सेनामा भर्ना हुन लालायित् हुन्थे, अकर्मण्य बाबुसँग नसकेपनि बाँकी संसार जित्न सकिन्छ भन्ने सोच्थे ।
आमाको बर्खी भर्खरै सकिएको थियो । सौतेनी आमा दुईजीउकी थिइ । बच्चा पाउने दिन नजिकिँदै जाँदा उसको अत्याचार झनभन बढ्दै थियो । गाई भीरमा चर्दै थिए, उसको मन चैते हुरीझैं बत्तिँदै थियो ।
यतिकैमा ठुलाघरे रामबहादुर आइपुगे । “भारी पुग्यो भाइ,” उनले सोधे । “छैन दाइ,” उसले खुइय काढयो मानौँ एकैचोटि छातीभित्रको जम्मै व्यथा एकै सासमा उडाउन चाहन्छ ।
कुरैकुरामा उसले थाहा पायो रामबहादुर त लाहुर जान लागेका रहेछन् । उसलाई ढुङ्गा खोज्दा देउता मिलेझैँ भयो । रामबहादुरको खुट्टामा छाँद हालेर रोयो । एकैछिन त लाहुरे अकमक्क प-यो तर तुरुन्तै सम्हालियो । सोध्यो, “किन, के भयो भाइ?”
उसले भन्यो, “मलाइ पनि तपाईँसँगै लैजानुस् दाई । म तपार्इँको खाना पकाउँछु, भाँडा माझ्छु, जुता टल्काउँछु, लुगा धुन्छु । मलाइ खानेबस्ने व्यवस्था मिलाइदिनुस्, तपाईँको सेवा गरेर बस्छु” ।
लाहुरेले केटाको दुःख देखेको थियो, हुन्न भन्न सकेन । त्यसपछि तिनीहरू लागे गोरखपुर ।
थाप्लेको सिरानबाट गोरखपुर देखिन्छ भन्ने सुनेको थियो उसले, आँखै अगाडि देख्दा त जिल्ल प-यो । रहँदाबस्दा गोरखपुरका गल्लीगल्लीसँग परिचित भयो, लाहुरेको सक्दो सेवा ग-यो । पल्टनमा भर्ती हुन खोज्याथ्यो तर खिरिलो ज्यानले के साथ दिन्थ्यो । अन्त्यमा उसले गोरखपुरको एउटा होटलमा भाँडा माझ्ने काम पायो, दुःखको अर्को श्रृंखला शुरु भयो ।
कहिले आधी पेट, कहिले खाली पेट धेरै भाँडा चम्कायो उसले, त्यसमाथि साहुको गाली त कति खायो खायो । गोरखपुरको त्यो अँध्यारो कोठामा जब पल्टन्थ्यो, आमा सम्झेर रुन्थ्यो, सौतेनी आमाको प्रताडना सम्झेर रुन्थ्यो, बाबुको लात सम्झेर रुन्थ्यो, आफ्नो भाग्य सम्झेर रुन्थ्यो । अपरिचित् शहरका गल्लीगल्लीमा त्यो बिचरो आफ्नो गाउँ खोज्थ्यो, अपनत्व खोज्थ्यो र हरेक साँझ हारेको योेद्धाझैं थकित ओढारजस्तो कोठामा फर्कन्थ्यो ।
जीवन यसैगरी चल्दै थियो, ऊ लड्दै थियो, रामबहादुर पनि लड्दै थियो, कहिले असमको जङ्गलमा, कहिले कश्मीरमा, विदेशीको इशारामा, विदेशीकै स्वार्थमा केही रुपियाँका लागि, मूल्यहीन तक्माका लागि, ‘वीरगति’ पाउनु व्यर्थको बलिदानको उत्कर्ष थियो ।
यस्तैमा एकदिन घरबाट चिठी आयो । सौतेनी आमा बितिछन्, छोरालाई एक्लै छोडेर । एक मन त सोच्यो, मेरो को छ र गाउँमा जाउँ, किन जाउँ त्यो अन्यायी संसारमा जसले मलाइ धकेलेर यहाँसम्म ल्याइपु-यायो ? आमा थिइनन्, बाउ पराइ भैसकेको थियो, के साइनो लिएर जाने ?
तर ऊ रातभर निदाउन सकेन, त्यो अबोध बालकको अनुहार आँखाभरि नाचिरहयो । आफूलाई उसका कोमल हातहरूले बोलाएजस्तो लाग्यो, सहारा खोजेजस्तो लाग्यो ।
अनि ऊ आफ्नो बाबुजस्तो, सौतेनी आमाजस्तो अनि होटलको साहुजस्तो निर्दयी हुन सकेन । मानवताको अगाडि निर्दयता हा-यो । चिठी पाएको अर्को दिन सखारै ऊ घरतिर लाग्यो सारा दुःख बिर्सेर । बाटोभरि उसलाई कतिखेर घर पुगूँला भन्नेमात्र लागिरह्यो, छटपटी भैरह्यो, पछि छुट्दै गैरहेका पहाड, जङ्गल, बजारहरूप्रति बेपर्वाह उसको मन रेलसँगै, बससँगै कुदिरह्यो निरन्तर घरतिर ।
ऊ घर पुग्दा साँझ परिसकेको थियो, कुकुरहरू भुकिरहेका थिए अपरिचितको आगमनमा । घरको उध्रेको छानाबाट जून चियाउँदै थियो गरिबको स्वर्गमा । उसको भाइ रोइरहेको थियो एकनास एक्लो घरमा, बाबु शायद रक्सी धोक्न गएको थियो ।
उसले बच्चालाई समात्यो र छातीभित्र लुकायो । आमाले भन्थी मान्छे बितेपछि जून हुन्छ, तारा हुन्छ अनि आफ्नाहरूलाई सधैँ हेरिरहेको हुन्छ, पछयाइरहेको हुन्छ । उसलाई लाग्यो आमा जून भएर उसैलाई हेरिरहेकी छे अपलक ।
भौतारीनुको मज्जा बेग्लै हुन्छ
वैवाहिक वर्षगाँठ
विखण्डित मन
|